Tuesday, April 26, 2011

सुनसान तिलौराकोट 
मनोज पौडेल                                                        From : ekantipur
बुद्ध जन्मस्थल लुम्बिनी, मायादेवी मन्दिर, अशोक स्तम्भ र पुरातात्विक महत्त्वका ताल वरपर जहिले चहलपहल हुँदा नजिकैको अर्को महत्त्वपूर्ण बुद्ध तीर्थस्थल तिलौराकोटलाई भने कुनै रौनकले छोएको हुँदैन । देशी-विदेशी पाहुनाले लुम्बिनी भरिभराउ  हुँदा  सिद्धार्थ गौतमले जीवनको २९ वर्ष  बिताएको स्थल तथा उनका पिता राजा शुद्धोदनको राजप्रासाद, मात्र २२ किलोमिटर पश्चिमको कपिलवस्तु जिल्लामा पर्ने तिलौराकोट भने सुनसान छ । बुद्ध लुम्बिनीमा जन्मिए पनि उनको स्याहारसुसार कपिलवस्तुमै भएको थियो । हुर्की बढी यहींबाट राजसी सुख सयल त्यागेर ज्ञान प्राप्तिका लागि उनी निस्किएका थिए । यस्तो महत्त्वपूर्ण स्थान अहिले बेवारिसे भएको छ । पालेबाहेक यहाँ कोही छैनन् । स्थानीय रूपमा कुनै कार्यक्रम राखिएको छैन । लुम्बिनी विकास कोष मातहत पर्ने कपिलवस्तुको तिलौराकोट लगायत ८ ठाउँको विकासमा सिन्कोसमेत भाँच्ने काम भएको छैन । पुरातात्विक स्थल तिलौराकोट, कुदान, गोटिहवा र निग्लिहवाको अशोक स्तम्भ, अरौराकोट, धमनिहवा, सिसहनिया र सगरहवा लगायतका महत्त्वपूर्ण स्थान चौपायाको चरण स्थल बनेको छ । वरिपरिको काँडे तार भाँच्चिएको छ । महत्त्वपूर्ण भईकन पनि माल पाएर चाल नपाएजस्तो भएका छन् कपिलवस्तुका पर्यटकीय स्थलहरू । यहाँ सय बढी पुरातात्विक, ऐतिहासिक, धार्मिक र संास्कृतिक स्थल छन् । कपिलवस्तुलाई पुरातात्विक स्थलहरूको खुला संग्रहालय भन्ने गरिन्छ । ती वर्षौंदेखि लथालिंग र उजाड छन् । ०५२ सालमा तिलौराकोट लगायत अन्य स्थललाई लुम्बिनी विकास कोषअन्तर्गत समावेश गरियो । विकास कार्यलाई एकीकृत रूपमा अघि बढाउने कार्यक्रम बनाएको १६ वर्ष भइसक्दा पनि यहाँ विकासको नाममा सिन्को भाँचिएको छैन । लुम्बिनीमा कार्यक्रम गर्नेहरूको भ्याइनभ्याई हुँदा यहाँ भने कुनै पत्तो
हुँदैन । सरोकारवाला निकायको निगरानीको अभावमा पुरातात्विक स्थलको जग्गा अतिक्रमण बढेको छ । बोल्ने कोही छैनन् ।
भगवान् बुद्धको बाल्य र युवा अवस्था बितेको ठाउँ भनी घुम्न आउने पर्यटकहरू महत्त्वपूर्ण दर्शनीय स्थलको यस्तो  अस्तव्यस्तता देख्दा दिक्क मान्छन् । चार वर्षपछि दोस्रोपटक यहाँ आएका ललितपुरका जीवन आचार्य भन्छन्, 'अहिले भग्नावशेषका भागहरू झन् दयनीय र जीर्ण भएका छन्, पवित्र तिलौराकोटको संरक्षण कार्यमा ढिलाइ र हेलचक्य्राइँ हुँदा असाध्यै दुःख लागेको छ ।' सरकारले पर्यटकीय स्थलको महत्त्व बुझ्न नसक्दा यहाँको  पुरातात्विक सम्पदा नासिँदो छ ।
यहाँ पर्यटक सूचना केन्द्र छैन । यसको अभावमा स्वदेशी/विदेशी पर्यटकले यहाँका पुरातात्विक विषयमा कुनै जानकारी पाउन सकिरहेका छैनन् । नेपाली पथ प्रदर्शकको अभावमा भारत हुँदै आउने पर्यटकलाई भारतीय गाइडले नै हाम्रो पुरातात्विक स्थानको मनलागी पाराले जानकारी दिने गरेका छन् । भारतले हाम्रा महत्त्वपूर्ण पुरातात्विक स्थलका बारेमा भ्रम सिर्जना गर्न खोजिरहेका बेला उनीहरूका
गाइडले नै पर्यटकलाई भ्रमपूर्ण तरिकाले जानकारी गराउँदा भारतीयहरूलाई नै फाइदा पुगिरहेको छ । यसतर्फ कसैले ध्यान दिएका छैनन् ।
विश्वव्यापी रूपमा फैलिएको भगवान् बुद्धको महिमा अझ व्यापक बनाउने लक्ष्य अनरूप जापानी वास्तुकलाविद् प्रा. केन्जो टागेले १९७८ मा तयार पारेको लुम्बिनी विकास गुरुयोजना ३२ वर्ष बित्न लाग्दा पनि साकार हुन नसक्दा त्यसको असर यहाँ पनि परेको छ । उत्तरदक्षिण १७०० फिट लामो र पूर्वपश्चिम १३०० फिट चौडा क्षेत्रफलमा फैलिएको तिलौराकोट दरबारमा तीन वटा भग्नावशेष छ । कोटको पश्चिममा पश्चिमीद्वारको भग्नावशेष छ भने पूर्वमा गौतम बुद्ध ज्ञान प्राप्तिका लागि निस्किएको द्वारका रूपमा परिचित महाभिनिष्क्रमण द्वारको भग्नावशेष छ । त्यस्तै कोटको मध्य भागमा राजप्रासादको भग्नावशेष स्पष्ट देखिन्छ । भग्नावशेषमा बस्न र थुक्न मनाही गरे पनि निगरानीको अभावमा सर्वसाधारणहरू यसैमा बस्ने र थुक्ने गर्छन् ।
उत्तरतर्फ बाणगंगा -भागिरथी) नदीसँग टाँसिएर रहेको तिलौराकोट अहिले चौपाया चरण स्थल भएको छ । कोटभित्रका प्राचीन इँटाहरू यत्रतत्र छरिएका छन् । यस्ता वस्तु कसैले लिएर हिँडे पनि बोल्ने कोही छैन । जिल्ला विकास समितिका पूर्वसभापति रमेश शर्मा तिलौराकोटको विकासका लागि छुट्टै सरकारी मान्यता प्राप्त स्वायत्त विकास समिति बनाएर जान सकेमात्र यहाँको विकास हुने बताउँछन् । कपिलवस्तुको पुरातात्विक विकासका लागि छुट्टै गुरुयोजना बनाएर अघि बढ्ने सकेमात्र यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने कुरामा सर्वसाधारणले जोड दिएका छन् ।
तिलौराकोटको प्रशासनिक र रेखदेखको जिम्मा पाएको लुम्बिनी विकास कोष कार्यालय यहाँदेखि करिब २५ किमि टाढा रहेकाले पनि तिलौराकोटको संरक्षण संवर्द्धनमा समस्या परिरहेको छ ।

No comments:

Post a Comment