Wednesday, April 27, 2011

भारतमा बन्दै छ लुम्बिनी

बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ ।
नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ ।
विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीव्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन् ।
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटोमै (लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन्’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने ।
निर्माणमा खटिएका मजदुरका अनुसार सन् २०१२ भित्र देवदह र लुम्बिनीसहित नक्कली कपिलवस्तुले अन्तिम रूप लिँदै छ । भारतीय योजनाअनुसार आगामी दुई वर्षभित्र निर्माण पूरा गर्न करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।
नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आफ्नो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ ।
राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
भारतले नक्कली कपिलवस्तु निर्माण गरिरहेको जानकारी जनस्तरबाट पाए पनि नेपाल सरकार भने मौन छ । तर, वास्तविक कपिलवस्तुबासी र बौद्धधर्मालम्बीले भारतको यो प्रयास दुखद् र निन्दनीय भनेका छन् । बुद्ध भारतमा नै जन्मिएको भनेर दाबी गर्दै ‘पुरातत्त्व’ नै निर्माण गर्ने भारतीय प्रयासका बाबजुद नेपाल सरकार मौन रहनु दुःखदायी भएको बताउँछन् पुरातत्त्वविद् वसन्त विडारी ।
भारतले कपिलवस्तुको तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि भारतीयमार्ग भएर आउने पर्यटकलाई भ्रमित गर्ने र उतै राख्ने उद्देश्यले यस्तो निर्माण गरिएको कपिलवस्तुका वासिन्दाको भनाइ छ । संस्कृतिकर्मी प्रेमनारायण पाण्डेले भने, ‘उसैले धेरै किताब छाप्छ, उसैले धेरै प्रचार गर्छ, पयर्टक त भ्रममा पर्ने भए अब ।’
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने आफू भारत नगएकाले यस्तो जानकारी नपाएको बताए । ‘खोइ, म त भारततिर गएको छैन, त्यस्तो जानकारी छैन,’ उनले भने ।
कपिलवस्तुका प्रहरी उपरीक्षक शरद् चन्दले स्थानीयस्तरमा भन्दा पनि केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने बताए । ‘यो राष्ट्रियस्तरको समस्या हो, दुई देशका नेताहरूले मिलाउनुपर्छ, हामीले यहाँ बसेर के बोल्ने ? के गर्ने ?’ उनले भने ।
तर तौलिहवाका वासिन्दा तथा नेपाल विद्यार्थी संघका सहमहामन्त्री राजेश ज्ञवालीले भने भारतद्वारा निर्मित नक्कली कपिलवस्तु तथा लुम्बिनी र तिलौराकोट हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए । तर, नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यक्रम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । गत डिसेम्बरमा पनि बुद्धमहोत्सव मनाइएको थियो ।
भारतका अनुसार देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको भए पनि करिब ५ किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ ।

No comments:

Post a Comment